लागू औषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ

विराटनगर।  लागू औषध ब्राउन सुगर र गाँजासहित सुनसरी, झापा र धनकुटाबाट ६ जना पक्राउ परेका छन्। विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

सुनसरी – इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले असार २० गते भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

त्यस्तै, इटहरी–१७ का २४ वर्षीय बलराम चौधरी र इटहरी–१९ का ३२ वर्षीय अरबिन्द्र भण्डारी पनि १२ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन्।

झापा – इलाका प्रहरी कार्यालय अनारमनीले इलाम नगरपालिका–९ का २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।

धनकुटा – इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका–८ का भिम बहादुर राईलाई ७ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।