मानवले अन्तरिक्ष छोएको सम्झना: आज अन्तर्राष्ट्रिय अन्तरिक्ष उडान दिवस

मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ अप्रिल ७ मा सम्बन्धित प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिले मानव जीवनमा पुर्‍याएको योगदानलाई स्मरण गराउँदै दिगो प्रविधिको उपयोगमार्फत विकासका लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

सन् १९६१ अप्रिल १२ मा सोभियत संघका नागरिक युरी गागरिनले पहिलो पटक अन्तरिक्ष उडान सफलतापूर्वक सम्पन्न गरेका थिए। पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बनेसँगै उनले अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआत गराएको मानिन्छ। यसअघि सन् १९५७ अक्टोबर ४ मा ‘स्पुतनिक–१’ नामक पहिलो मानव निर्मित पृथ्वी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो, जसले अन्तरिक्ष अनुसन्धानको ढोका खोलेको थियो। त्यसपछिका दशकहरूमा मानव अन्तरिक्ष यात्रामा उल्लेखनीय प्रगति हुँदै आएको छ।

सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बनिन्। त्यस्तै, सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमाको सतहमा पाइला टेक्दै मानव इतिहासमा नयाँ कीर्तिमान कायम गरे। सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यानको संयोजनमार्फत पहिलो अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो। संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण र यसको उपयोग सम्पूर्ण मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसबाट प्राप्त लाभ सबै राष्ट्रमा समान रूपमा पुर्‍याउनुपर्नेमा जोड दिएको छ।