वैशाख २ देखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु, ५ हजार जनशक्ति परिचालन हुने

आगामी वैशाख २ गतेदेखि देशभर दोस्रो ‘राष्ट्रिय आर्थिक गणना’ सुरु हुने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय ले करिब ५ हजार जनशक्ति परिचालन गर्दै असार पहिलो साताभित्र स्थलगत तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। यस गणनामा उद्योग, व्यापार, सेवा, सहकारी तथा सरकारी–निजी क्षेत्रअन्तर्गतका १८ वटा आर्थिक गतिविधि समेटिनेछन्। दर्ता भएका र नभएका सबै प्रकारका प्रतिष्ठानहरूको लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ।

यसअघि २०७५ सालमा सम्पन्न पहिलो गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो। अर्थमन्त्री स्वर्णिम वाग्ले ले मुलुकको आर्थिक योजना निर्माणका लागि यस्तो गणना अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सबै उद्योगी तथा व्यवसायीलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले औद्योगिक तथा व्यावसायिक क्षेत्रको यथार्थ अवस्था उजागर गर्न सक्रिय सहभागिता आवश्यक रहेको पनि बताएका छन्।