सिटी बोर्डिङ स्कुलद्वारा पूर्व विद्यार्थी नितिका र स्वस्तिका मल्ल सम्मानित

विराटनगर–६ स्थित सिटी बोर्डिङ स्कुलले अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रमको अवसरमा आफ्ना दुई पूर्व विद्यार्थी नितिका मल्ल र स्वस्तिका मल्ललाई सम्मान गरेको छ।
विद्यालयले वडा नम्बर ६ सहित आसपासका ग्रामीण तथा निम्न आय भएका परिवारका बालबालिकालाई सहुलियत दरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताएको छ। सोही विद्यालयबाट अध्ययन पूरा गरेका यी विद्यार्थीहरूले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएपछि सम्मान गरिएको हो।
कानुन संकायकी विद्यार्थी स्वस्तिका मल्ल न्यायिक अभ्यास तथा पैरवी क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। त्यसैगरी, नितिका मल्ल नोबेल मेडिकल कलेजमा नर्सका रूपमा कार्यरत रहँदै ‘हेल्पिङ ह्यान्ड्स’ संस्थामार्फत ग्रामीण समुदायमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएकी छन्।
विद्यालयले उनीहरूको योगदानले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्ने जनाएको छ।