विराटनगरमा त्रिविबाट एलएलबी पढाइ सुरु, डिग्री क्याम्पसमा ३०० सिट

विराटनगर। कानुन विषय अध्ययन गर्न चाहने विराटनगरका विद्यार्थीहरूका लागि खुसीको खबर आएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कानुन सङ्कायले आगामी शैक्षिक सत्र २०८२/०८३ देखि विराटनगरस्थित डिग्री क्याम्पसमा तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि विराटनगरमा कानुन विषयको अध्ययन पूर्वाञ्चल विश्वविद्यालयमार्फत मात्र हुँदै आएको थियो। अब भने त्रिविले पनि सोही सहरमा एलएलबी कार्यक्रम विस्तार गरेपछि विद्यार्थीहरूका लागि अध्ययनका विकल्पहरू थपिएका छन् । त्रिवि कानुन सङ्काय, डीनको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार शैक्षिक कार्यक्रम विस्तार गरिएका क्याम्पसहरूको सूचीमा विराटनगरको डिग्री क्याम्पसलाई समेत समावेश गरिएको हो। उक्त क्याम्पसमा एलएलबी तहका लागि ३०० सिट निर्धारण गरिएको छ, जसले ठूलो संख्यामा विद्यार्थीलाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यसैबीच, त्रिभुवन विश्वविद्यालयले देशभरका आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कुल ३ हजार ८०० विद्यार्थीका लागि एलएलबी तहमा भर्ना खुला गरेको छ। इच्छुक विद्यार्थीहरूले चैत ३० गतेदेखि आवेदन दिन सक्नेछन्। विराटनगरमा त्रिविको यो पहलले कानुन शिक्षाको पहुँच विस्तार हुनुका साथै स्थानीय विद्यार्थीहरूलाई आफ्नै सहरमा गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर मिल्ने विश्वास गरिएको छ। साथै, यसले प्रदेशस्तरमै दक्ष कानुन व्यवसायी उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।