काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले सरकारमा रहेका सबै व्यक्तिको सार्वजनिक गरिएको सम्पत्तिको स्रोतसमेत खुलाउन माग गरेका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनु सकारात्मक भए पनि त्यसको स्रोत स्पष्ट नभएसम्म पारदर्शिता पूर्ण नहुने बताएका हुन्। साम्पाङका अनुसार, केवल सम्पत्तिको परिमाण सार्वजनिक हुनु मात्र पर्याप्त नभई त्यसको आर्जन कसरी गरिएको हो भन्ने कुरा पनि खुल्न आवश्यक छ। स्रोत नखुलेको सम्पत्तिलाई घुमाइफिराइ भ्रष्टाचारकै रूपमा बुझिन सक्ने उनको तर्क छ।
उनले लेखेका छन्, “सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो हुन्छ। स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ। त्यसैले स्रोत प्रष्ट पारिनुपर्छ।” सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि यतिबेला राजनीतिक वृत्तमा यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ।
