काठमाडौँ । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने स्पष्ट घोषणा गरेकी छन्। समाजमा अझै पनि दाइजो प्रथा गम्भीर कुरीतिका रूपमा जरा गाडेर बसेको उल्लेख गर्दै उनले यसलाई सामाजिक मात्र होइन, कानुनी रूपमा समेत दण्डनीय अपराध भएको बताएकी छन्। हालै आफूले प्राप्त गरेका केही विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख नभएको पाइएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। “दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य हो,” उनले उल्लेख गरेकी छन्। उनका अनुसार यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ। उपसभामुख ठाकुरले समाज परिवर्तनको सुरुवात व्यक्तिगत स्तरबाटै हुनुपर्नेमा जोड दिँदै दाइजो लेनदेन भएको विवाहमा आफू उपस्थित हुन नसक्ने प्रस्ट पारेकी छन्। साथै, अबदेखि विवाहको निमन्त्रणापत्र पठाउँदा त्यसमा दाइजो निषेधको स्पष्ट सन्देश समावेश गर्न उनले आग्रह गरेकी छन्। “विवाह निमन्त्रणापत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश राख्न हार्दिक अनुरोध गर्दछु,” उनले आह्वान गरेकी छन्। “आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौँ।” व्यक्तिगत रूपमा उठाइने सानो कदमले पनि ठूलो सामाजिक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै उनले समानतामा आधारित, सभ्य र सुसंस्कृत विवाहको अभ्याहन गर्न सबैलाई अपिल गरेकी छन्।
