काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेका प्रश्नप्रति स्पष्टीकरण दिएका छन्। संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक भएको सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि देखिकै भएको दाबी गरे। उनले सम्पत्तिका विषयमा अनावश्यक भ्रम नफैलाउन पनि आग्रह गरे। गत चैत २९ गते सार्वजनिक गरिएको सम्पत्ति विवरणपछि गुरुङको सम्पत्तिबारे विभिन्न प्रश्नहरू उठेका थिए। सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको उल्लेख छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चितवनको भरतपुरमा १८–३० कट्ठा तथा गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी जग्गा रहेको छ। त्यसैगरी धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै, गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी तथा करिब ६० लाख रुपैयाँ नगद रहेको देखिएको छ। बैंक खातातर्फ नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४०० रुपैयाँ र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ। तर नगद आम्दानीको स्रोत भने खुलाइएको छैन भने सुनलाई पैत्रिक सम्पत्ति भएको जनाइएको छ।
