विराटनगरमा स्रोत नखुलेको ५ लाखभन्दा बढी रकम बरामद, भारतीय नागरिक पक्राउ

विराटनगर — विराटनगरमा भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्रोत नखुलेको ५ लाखभन्दा बढी रकम बरामद भएको छ। अवैध रूपमा रकम ओसारपसारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाट क्षेत्रमा ५ लाख १ सय १५ रुपैयाँ बरामद गरेको हो। डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिएर जाँच गरेको थियो।जाँचका क्रममा मोटरसाइकल चालक भारत, बिहारको अररिया जोगवनी–१० निवासी ३० वर्षीय आनेशकुमार चौधरीको साथबाट उक्त रकम फेला परेको हो। बरामद रकममा एक हजार दरका २०० थान, पाँच सय दरका ६०० थान, एक सय दरको १ थान, साथै १० र ५ रुपैयाँका एक–एक थान नोट रहेका छन्।प्रहरीका अनुसार चौधरीले उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।बरामद नगद र मोटरसाइकलसहित चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। इन्स्पेक्टर कविन राईको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।