देशभर ‘आमाको मुख हेर्ने पर्व’ मनाइँदै, आमाप्रति सम्मान र कृतज्ञता व्यक्त

काठमाडौं — वैशाख कृष्ण औँसीका अवसरमा आज देशभर आमाप्रति श्रद्धा, माया र सम्मान प्रकट गर्दै ‘आमाको मुख हेर्ने पर्व’ मनाइँदैछ। यस पर्वलाई ‘मातातीर्थ औँसी’का नामले पनि चिनिन्छ।

वर्षमा एकपटक आउने यस विशेष दिनमा सन्तानले आफ्नी जन्मदात्री आमालाई मिठा परिकार खुवाउने, नयाँ वस्त्र अर्पण गर्ने र आशीर्वाद लिने परम्परा रहिआएको छ। बिहानै स्नान गरी आमाको पूजा गर्ने, खुसी पार्ने र दीर्घायुको कामना गर्ने चलन नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको छ।

धार्मिक तथा शास्त्रीय मान्यताअनुसार आमालाई सबैभन्दा उच्च स्थान दिइएको छ। धर्मग्रन्थहरूमा आमालाई गुरु, आचार्य र बाबुभन्दा पनि श्रेष्ठ मानिएको पाइन्छ, जसले यस पर्वको महत्वलाई अझ उचाइ दिएको छ।

जीवित आमा हुनेहरूले स्नेहपूर्वक भोजन गराउने र आशीर्वाद थाप्ने गर्छन् भने आमा बितिसकेकाहरूले तर्पण, पिण्डदान तथा सिदादान गरी श्रद्धाञ्जली अर्पण गर्ने परम्परा छ। यसले दिवङ्गत आमाप्रति कृतज्ञता प्रकट गर्नुका साथै पारिवारिक र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिन्छ।

वैदिक परम्पराअनुसार प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यता छ, जसमा आमाप्रतिको सम्मानलाई विशेष महत्व दिइन्छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति आमा र जन्मभूमिको महत्त्व झल्काउने प्रमुख आधार मानिन्छ।

यस अवसरमा काठमाडौंको मातातीर्थमा परम्परागत रूपमा मेला लागेको छ। आमाको सम्झनामा स्नान गर्ने, तर्पण दिने र पूजाआजा गर्नेहरूको उल्लेखनीय भीड देखिएको छ।

आमाले गर्भधारणदेखि पालनपोषणसम्म पुर्‍याएको अमूल्य योगदानको सम्मानस्वरूप मनाइने मातातीर्थ औँसी नेपाली समाजको गहिरो भावनात्मक र सांस्कृतिक पहिचानको प्रतीक बनेको छ। यस पर्वले सन्तानलाई आमाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्दछ।