काठमाडौं । संघीय संसद्का १२ विषयगत समितिको सभापति चयन आज हुने भएको छ। प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समिति र २ संयुक्त समितिमा नेतृत्व चयन हुन लागेको हो। बिहीबार १० वटा विषयगत समिति र २ संयुक्त समितिका सभापतिमा मनोनयन दर्ता भएको थियो। संसद् सचिवालयका सचिव हर्कराज राईका अनुसार आज अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापति चयन प्रक्रिया अघि बढाइनेछ। निर्वाचन कार्यतालिका अनुसार समितिको बैठकमा सभापतिका लागि दर्ता भएका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। सचिवालयले सार्वजनिक गरेको मनोनयन सूचीअनुसार अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीको उम्मेदवारी परेको छ।
यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्काको मनोनयन दर्ता भएको छ। महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरीले उम्मेदवारी दिएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ओजस्वी शेरचन र नेकपा (एमाले) का गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुने देखिएको छ।
संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की र मदनकुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुने भएको छ।
