पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु, उद्धार कार्य जारी

विराटनगर । पाकिस्तानको कराँचीस्थित लियारीको बग्दादी क्षेत्रमा रहेको ६ तले आवासीय भवन शनिबार भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। शनिबार अपराह्न भग्नावशेषबाट थप तीन जनाको शव फेला परेसँगै मृतक संख्या बढेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन्।

भवन भत्कँदा घटनास्थलमा त्रास फैलिएको थियो भने तत्कालै उद्धार कार्य सुरु गरिएको थियो। हालसम्म १९ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नौ जना घाइते छन्, जसमा पाँच महिला पनि रहेका छन्।

कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबका अनुसार अझै करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको छ। उनका अनुसार उद्धार कार्य तीव्र गतिमा जारी छ र कुनै पनि व्यक्ति फसेको सम्भावना नहटुन्जेल उद्धार कार्य रोकिने छैन।

घाइतेमध्ये ६ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी तीन जनाको उपचार एसएमबीबी ट्रमा सेन्टरमा भइरहेको छ। घटनाको विस्तृत अनुसन्धान पनि सुरु गरिएको जनाइएको छ।

स्थानीय अधिकारीहरूले भवनको संरचनात्मक अवस्था र सुरक्षाको विषयमा गम्भीर ध्यान दिन जरुरी रहेको बताएका छन्। यस प्रकारको घटना पुनः नदोहरियोस् भनी सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न पनि आग्रह गरिएको छ।