सामुदायिक विद्यालयका ६ सय विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा

वालिङ। भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत ६०० विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। वडाले बालमैत्री कार्यक्रमअन्तर्गत नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा लागू गरेको हो। यो कार्यक्रम यही वैशाख १ गतेदेखि सुरु गरिएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाभित्रका ११ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जन्मदर्ताका आधारमा स्वास्थ्य बिमामा समेटिएको हो। उनले भने, “भिरकोट नगरपालिका–८ भित्र जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे पनि वडाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने व्यवस्था गरिएको हो।” वडाका अनुसार बिमा लागू भएका अस्पतालहरूमा विद्यार्थीले बिमाअनुसार उपचार पाउनेछन् भने अन्य अस्पतालमा उपचार गर्दा रसिदका आधारमा भुक्तानी गरिनेछ। यसअघि पनि वडाले जन्मदर्ता प्रोत्साहन गर्न नवजात शिशुको नाममा खाता खोली पाँच हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।