बिराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ठूलो परिमाणमा बिल बिजकविहीन काँचो केरा बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।
शुक्रबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेका दुई पिकअप गाडी (प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१) जाँच गर्दा आवश्यक कागजातविहीन केरा फेला पारेको हो।
पक्राउ पर्नेमा प्रल्हाद दाहाल, ज्ञानबहादुर भट्टराई, सेराज मियाँ र रामेश्वर दास रहेका छन्।
बरामद केराको अनुमानित मूल्य ११ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद सामान, सवारी साधन र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध कोशी ब्यारेज पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
