विराट गोल्डकपको उपाधि झापा ११ लाई

 

विराटनगर । झापा ११  ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।
उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो । यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक यो प्रतियोगिता जितेको थियो ।
झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८१ औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले गोलमा परिणत गरेका थिए । झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले फागुराम थारूको पासमा गोल गरेका थिए । खेलको थप गरिएको (इन्जुरी) समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर घटाए पनि हार टार्न सकेनन् ।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसरहरू गुमाएका थिए । खेलको १६ औं मिनेटमा सम्राटका सुरज तामाङले पेनाल्टी क्षेत्र (डिबक्स) भित्रबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे । त्यसलगत्तै झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरिएको थियो । दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो । ४७ औं मिनेटमा राजेश दाहाल र ५५ औं मिनेटमा मौसम सुब्बाको कडा प्रहार बाहिरिएको थियो ।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो । झापाका फागुराम थारू ‘हाइ स्कोरर’ (सर्वाधिक गोलकर्ता) बने । उनले प्रतियोगिताभरीमा ३ गोल गरेका थिए ।
सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पाए । यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा बातवरण मन्त्री भिम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता थियो ।