मूल्यवृद्धि फिर्ता गर्न कुलमान घिसिङको आग्रह, उपभोक्तामाथि भार नपार्न चेतावनी

काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशमा इन्धनमा भएको मूल्यवृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताएका हुन्। “विकट भूगोलका कारण कर्णाली आफैँमा खर्चिलो क्षेत्र हो। यहाँ बाह्य तथा आन्तरिक पर्यटकको आवागमन सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य बढाउनु हुँदैन,” उनले भने। छिमेकी भारतमा समेत इन्धनको मूल्य नबढेको उल्लेख गर्दै उनले नेपालमा मूल्यवृद्धिको भार नागरिकमाथि नपार्न सरकारलाई आग्रह गरे।

दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफूहरूले सहयोग गर्ने बताउँदै घिसिङले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा कर्णालीको विद्युतीकरण र ‘ट्रान्समिसन लाइन’ विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको जिकिर गरे।उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ। छोटो समयमा पार्टी गठनका कारण सङ्गठन सुदृढीकरण गर्न नपाउँदै चुनावमा जानुपरेकाले हार व्यहोर्नुपरेको भए पनि आगामी निर्वाचनमा उनेपा सशक्त रूपमा उदाउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने उनको भनाइ थियो।