उदयपुरको बेल्टारमा आगलागी : दुई जनाको मृत्यु, ६६ लाखको क्षति

उदयपुर। उदयपुरको चौदण्डी गढी नगरपालिका–७ स्थित बेल्टार बजारमा भएको आगलागीमा दुई जनाको मृत्यु भएको छ। बेल्टार बजारस्थित लक्ष्मीनारायण खड्काको घरमा आज बिहान आगलागी हुँदा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीबाट लक्ष्मीनारायणका छिमेकी रवीन दास र सकल देवका घरमा समेत क्षति पुगेको छ। छिमेकी त्रियुगा नगरपालिका तथा चौदण्डी गढी नगरपालिकाका दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण हालसम्म खुलेको छैन। उक्त घटनाबाट करिब ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।