विराटनगर। मोरङ जिल्लामा ठूलो परिमाणको लागुऔषधसहित एक युवकलाई प्रहरीले हवाई फायर गर्दै नाटकीय रूपमा पक्राउ गरेको छ। सोमबार राति रतुवामाइ नगरपालिका–१ हटिया क्षेत्रमा खटिएको प्रहरी टोलीले दुई राउण्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही नगरपालिका–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन्। भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई निगरानीमा राखेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार, भारतीय नम्बर प्लेट (BR 38 AD 5390) भएको मोटरसाइकलमा आएका मियाँले प्रहरी देखेपछि भाग्ने प्रयास गरेका थिए। उनलाई रोक्न प्रहरी निरीक्षक कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेका थिए। हवाई फायरपछि नियन्त्रणमा लिइएका मियाँको शरीर खानतलासी गर्दा पाँच पोका खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। उक्त लागुऔषधको तौल ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम रहेको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ।
