काठमाडौंमा २४ घण्टामा ३ हजार ५०१ सवारी चालक कारबाहीमा, २५ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा कारबाही गरिएको हो। कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७७ जना, अवस्था ठिक नभएका ६९ जना, रातो बत्ती उल्लङ्घन गर्ने १५८ जना, तीव्र गतिमा सवारी चलाउने ८९ जना, लेन उल्लङ्घन गर्ने १७२ जना, ढोका खुल्ला राख्ने ५७ जना, ‘नो हर्न’ नियम तोड्ने ७७ जना, यात्रु ओराल्ने तथा चढाउने क्रममा नियम उल्लङ्घन गर्ने ५५ जना रहेका छन्। अन्य विभिन्न शीर्षकमा दुई हजार ७४७ जना कारबाहीमा परेका छन्। प्रवक्ता सुवेदीले पछिल्लो २४ घण्टामा गरिएको कारबाहीबाट जम्मा २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए।