सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई आज बिहानै नियन्त्रणमा लिइएको हो। दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेपछि कारागारभित्र तनाव उत्पन्न भएको थियो। गुटबन्दी गरी अशान्ति फैलाउने प्रयास भएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न बिहानै ‘अप्रेसन’ सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार कारागारभित्र केही कैदीबन्दीले आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। “थप झडप हुन नदिन २२ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ,” उनले भने।
यसअघि गत माघमा पनि कारागारभित्र कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गरिएको थियो। सो घटनापछि कैदीबन्दीहरूले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए।
