काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्नु उचित हुने बताएका छन्। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्री सुधन गुरुङबारे पटक–पटक विवाद आइरहेकाले पद छोड्नु (मार्गप्रशस्त गर्नु) उपयुक्त हुने धारणा राखे। उनले सरकार सुशासन कायम गर्न प्रयासरत रहेको भन्दै प्रतिक्रिया दिन हतार नगर्नुपर्ने पनि बताए।
साम्पाङले सरकारले मागेअनुसार आफ्नो पार्टीले ३३ बुँदे सुझाव पत्रसमेत बुझाएको जानकारी दिए। उनका अनुसार श्रम संस्कृतिले आधारभूत आवश्यकतामा जोड दिने, जनजीवन सहज बनाउन भूमिका खेल्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने, असंलग्न परराष्ट्र नीति सुदृढ गर्ने तथा देशलाई विदेशी हस्तक्षेपबाट मुक्त बनाउने जस्ता सुझाव दिएको छ। त्यस्तै, “एक परिवार–एक रोजगार” नीति लागू गर्ने, हप्तामा ३ दिन अध्ययन/पठन संस्कृति र ४ दिन श्रम, सीप तथा उत्पादनमुखी गतिविधिमा जोड दिने प्रस्ताव पनि गरिएको छ। साम्पाङले सबै प्रकारका विभेद अन्त्य गर्दै सुशासन स्थापित गर्नुपर्ने, तथा शहीद, बेपत्ता र घाइतेहरूको वास्तविक अभिलेख राखी राज्यले विशेष सेवा सुविधा दिनुपर्ने मागसमेत राखे। उनले लोकतन्त्र बलियो बनाउन स्वतन्त्र र मर्यादित पत्रकारिता तथा नागरिक अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्नेमा पनि जोड दिए।
