काठमाडौँ। दिगो भविष्य निर्माणका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ तारिखका दिन यो दिवस मनाउन थालिएको हो। यस दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सबैको साझा जिम्मेवारी आवश्यक रहेको सन्देश प्रवाह गर्दछ। हाल महासागरहरू प्लास्टिकजन्य फोहोरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन्। अत्यधिक तापक्रम वृद्धि, डढेलो, बाढी तथा पहिरोजस्ता विपद्का कारण विश्वभर लाखौँ मानिस प्रभावित भएका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार हरेक वर्ष विश्वभर करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ। वातावरणविद्हरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणालीले मानव स्वास्थ्यको सुरक्षा गर्न सहयोग पुर्याउँछ भने जैविक विविधताले रोग फैलाउने सूक्ष्म जीवहरूको तीव्र विस्तार नियन्त्रण गर्न मद्दत गर्छ। हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजाति लोप हुने जोखिममा रहेको अनुमान गरिएको छ। जलवायु परिवर्तन, प्रकृतिमाथि बढ्दो मानवीय हस्तक्षेप, वन विनाश, भू–उपयोगमा परिवर्तन, अत्यधिक कृषि तथा पशुपालन र अवैध वन्यजन्तु व्यापारजस्ता गतिविधिहरूले जैविक विविधतामा गम्भीर असर पार्दै पृथ्वीको सन्तुलन बिगारिरहेका छन्।
यस अवस्थामा सुधार ल्याउन पारिस्थितिक प्रणालीको पुनःस्थापना अत्यन्त आवश्यक देखिन्छ। पारिस्थितिक प्रणाली नै सम्पूर्ण जीवजगतको आधार भएकाले यसको संरक्षणले पृथ्वी र मानव जीवन दुवैलाई स्वस्थ र दिगो बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। यदि बिग्रिएको पारिस्थितिक प्रणाली पुनःस्थापना गर्न सकियो भने गरिबी न्यूनीकरण, जलवायु परिवर्तनको असर घटाउने तथा प्रजातिहरूको सामूहिक विनाश रोक्न महत्वपूर्ण योगदान पुग्नेछ।
