विराटनगर । गगनकुमार थापाले सरकारले पछिल्लो समय कानुन र विधि मिच्दै ‘लहडका भरमा’ निर्णय गरिरहेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई जिम्मेवार बन्न सचेत गराउँदै नागरिकका माग बेवास्ता गरिए सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिए। उनले संविधान कार्यान्वयन, विधिको शासन र प्रजातन्त्रका आधारभूत मान्यतामा सरकार कमजोर देखिएको उल्लेख गर्दै नेपाली कांग्रेस दृढ रूपमा उभिने स्पष्ट पारे। थापाले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयमार्फत सरकारका केही कदमप्रति गम्भीर ध्यानाकर्षण गराइसकिएको जानकारी दिए। भदौ २४ गतेको घटनाबारे बोल्दै उनले निष्पक्ष र न्यायिक छानबिनका लागि तत्काल आयोग गठन गर्न सरकारसँग माग गरिएको बताए।
‘सरकारले हाम्रा माग सुन्छ भन्ने विश्वास छ। नसुने कसरी सुनाउने भन्ने पनि हामीलाई थाहा छ,’ उनले भने। राज्यलाई प्रत्येक नागरिकमाथि अनुसन्धान गर्ने अधिकार रहेको उल्लेख गर्दै त्यसलाई कांग्रेसले सम्मान गर्ने बताए। तर, अनुसन्धानका नाममा कानुन उल्लंघन गर्न नहुनेमा उनको जोड थियो। ‘राज्यका निकायहरू छाडा भए प्रजातन्त्र कमजोर हुन्छ,’ उनले भने।
कांग्रेसको भूमिकाबारे स्पष्ट पार्दै उनले संघीय संसदमा प्रतिपक्षमा रहे पनि प्रदेशहरूमा सरकारमै रहेको स्मरण गराए। सकारात्मक काममा साथ दिने तर जनहितका विषयमा तथ्यका आधारमा प्रश्न उठाउने नीति पार्टीले लिएको उनको भनाइ थियो। प्रमुख प्रतिपक्षीको भूमिका कमजोर भएको आरोपबारे उनले कांग्रेस जिम्मेवार ढंगले प्रस्तुत भएको दाबी गरे। ‘हामी चर्को होइनौँ, तर आवश्यक ठाउँमा स्पष्ट र तथ्यसहित आवाज उठाइरहेका छौँ,’ उनले भने। उनले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै नेतासँग संवाद र छलफल भइरहेको जानकारी दिए।
