काठमाडौं । सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आजैबाट लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन्। गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गरेको वक्तव्यमा आफूले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पछिल्ला दिनमा आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्। पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै उनले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको जनाएका छन्। पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले आफू पदमुक्त भएको उनको भनाइ छ। गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि उल्लेख गरेका छन्।
उनले लेखेका छन्
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
