विराटनगर । विराटनगरमा अवैध रूपमा तास खेल्दै गरेका ६ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ सोमबारेस्थित एक खाली घरबाट उनीहरुलाई राति करिब ८ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी र ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं र ५६ वर्षीय राजु रन्जितकार तथा विराटनगर–१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोली खटिएर छापा मार्दा उनीहरु तास खेलिरहेको अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनास्थलबाट तीन बुक तास, नेपाली ४४ हजार १ सय ६५ रुपैयाँ तथा भारतीय २ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ । ‘एसीसमेत जडान गरेर खाली घरलाई तास खेल्ने ठाउँका रूपमा व्यवस्थित गरिएको रहेछ, जहाँ दैनिक रूपमा खेल हुने गरेको पाइयो,’ एसपी कटवालले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
