काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ स्तरमा

काठमाडौं । काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । वातावरण विभागका अनुसार पछिल्ला दिनमा देशभरि नै वायु प्रदूषण पुनः बढ्दो क्रममा देखिएको छ । बिहीबार (वैशाख १०) बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३१ पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले ‘अति अस्वस्थकर’ श्रेणीमा पर्छ । हाल काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार यतिबेला काठमाडौंभन्दा बढी प्रदूषित सहर पाकिस्तानको लाहोर (एक्यूआई २६१) मात्र रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का मापदण्डअनुसार यी दुवै सहरको वायु गुणस्तर ‘अति अस्वस्थकर’ श्रेणीमा पर्दछ । डब्ल्यूएचओका अनुसार एक्यूआई १०१ देखि १५० सम्म हुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीका लागि ‘अस्वस्थकर’ मानिन्छ भने १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर हुन्छ । २०१ देखि ३०० सम्म ‘अति अस्वस्थकर’ र सोभन्दा माथि पुगेमा अवस्था ‘खतरनाक’ बन्दै जान्छ ।वातावरण विभागले दाङको देउखुरी, भक्तपुर, काठमाडौंका रत्नपार्क र शंखपार्क तथा सुर्खेतलगायत क्षेत्रको वायु गुणस्तर पनि अत्यन्त खराब रहेको जनाएको छ ।वायु प्रदूषणका कारण मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरू बढी जोखिममा रहने मन्त्रालयले जनाएको छ ।मन्त्रालयले वायु प्रदूषण बढेका बेला बिहान र बेलुका अनावश्यक रूपमा घरबाहिर ननिस्कन र बाहिर निस्कनै परे मास्क प्रयोग गर्न सर्वसाधारणलाई सुझाव दिएको छ ।