चीनको अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरकी उद्यमी श्रुति शर्माको सहभागिता

विराटनगर। विराटनगरकी महिला उद्यमी तथा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति संयोजक श्रुति शर्माले चीनको निङबो सहरमा आयोजित एक साताव्यापी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता जनाएकी छन्।

नेपाल-चीन कार्यकारी परिषद् (एनसीसी) को पहल तथा चीनको वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित उक्त सेमिनारमा नेपालसहित पाँच देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चिनियाँ प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणाली अन्तर्गतको ‘लुबान वर्कशप’ अवधारणा, कार्यान्वयन प्रक्रिया, प्रयोगात्मक तालिम विधि, प्रविधिको प्रयोग, र विद्यार्थी केन्द्रित सिकाइ पद्धतिबारे व्यापक छलफल गरिएको श्रुति शर्माले जानकारी दिइन्।

सेमिनारका क्रममा सहभागी देशहरूबीच शैक्षिक सहकार्य, ज्ञान आदानप्रदान, तथा संयुक्त तालिम तथा कार्यक्रमहरू सञ्चालनको सम्भावनाबारे समेत छलफल भएको उनले बताइन्।

उद्योग तथा व्यवसाय क्षेत्रमा महिलाको सहभागिता बढाउने प्रयासमा संलग्न शर्माले लुबान वर्कशपको अवधारणाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई थप आधुनिक र रोजगारमुखी बनाउन सक्ने विश्वास व्यक्त गरिन्।