बीसौँ लोकतन्त्र दिवस आज: लोकतन्त्रप्रति प्रतिबद्धता झल्काउँदै देशभर कार्यक्रम

देशभर आज बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतिक दलहरूको मार्गचित्रअनुसार विघटन गरिएको संसद् पुनर्स्थापना गरेपछि जनताले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणस्वरूप २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो। विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। त्यसपछि देशमा राजनीतिक अस्थिरता चुलिँदै गयो र राजाले आफ्नो इच्छाअनुसार प्रधानमन्त्री नियुक्ति तथा बर्खास्त गर्ने क्रम सुरु भयो। यस अवधिमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई पटक–पटक प्रधानमन्त्री बनाइयो र हटाइयो।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनले थप तीव्रता पायो। आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएपछि विभाजित राजनीतिक शक्तिहरू एकजुट भए र आन्दोलन निर्णायक चरणमा प्रवेश गर्‍यो। विसं २०६२ फागुनदेखि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको जनआन्दोलन चैत महिनासम्म आइपुग्दा उत्कर्षमा पुग्यो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिए, चक्रपथ मानवसागरले भरियो। अन्ततः जनदबाबका कारण राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भई वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गर्न बाध्य भए। यही दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ।

यस ऐतिहासिक उपलब्धिले गणतन्त्र स्थापनाको जग तयार गर्‍यो। विसं २०६३ जेठ ४ गते पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो र माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गर्‍यो। यसलाई नेपाली ‘म्याग्नाकार्टा’का रूपमा समेत लिने गरिन्छ। यसै प्रक्रियाअन्तर्गत विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। त्यसको पहिलो बैठकले २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको औपचारिक अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि त्यसले महत्वपूर्ण आधार तयार गर्‍यो। पछि विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गर्‍यो।

संविधान कार्यान्वयनसँगै सङ्घीय, प्रादेशिक र स्थानीय तहमा सरकार सञ्चालन भइरहेको छ। लोकतान्त्रिक परिवर्तनको प्रवेशद्वारका रूपमा वैशाख ११ गतेलाई हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।