काठमाडौं। आज काठमाडौं विश्वकै सबैभन्दा वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क २२३ पुगेको छ, जुन जनस्वास्थ्यका लागि ‘धेरै अस्वस्थकर’ स्तर मानिन्छ। सूचीको दोस्रो स्थानमा नयाँ दिल्ली रहेको छ, जहाँ एक्यूआई १६२ मापन गरिएको छ। त्यसैगरी तेस्रो स्थानमा लाहोर रहेको छ, जहाँ एक्यूआई १५८ रहेको छ। केही दिनअघिसम्म तुलनात्मक रूपमा सामान्य अवस्थामा रहेको वायु गुणस्तर शुक्रबार एक्कासि बिग्रिएको हो। मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको एक्यूआई बढेर २२३ पुगेको हो। एक्यूआईको मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। विशेषगरी यस्तो प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीहरूलाई बढी असर पार्ने जनाइएको छ। अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन विज्ञहरूले सुझाव दिएका छन्।
