नबिल बैंकले गोपनीयता चुहावट आरोप अस्वीकार गर्‍यो

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूको गोपनीयता भंग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै खण्डन गरेको छ। केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत फैलिएको उक्त दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले यस्ता भ्रामक सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वासमा नकारात्मक असर पार्ने प्रयास भएको उल्लेख गरेको छ। बैंकले वैशाख ९ गते प्रकाशित कान्तिपुर दैनिक को ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ शीर्षकको समाचारलाई उल्लेख गर्दै, सो समाचारमा ‘अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबारको विवरण’ भनिएको स्मरण गराएको छ। उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबार विवरण समेटिएको तथ्यलाई बेवास्ता गर्दै केही व्यक्तिले नबिल बैंकविरुद्ध दुष्प्रचार गरेको बैंकको भनाइ छ।

नबिल बैंकका अनुसार ग्राहकको कुनै पनि सूचना वा कारोबार विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रियाअनुसार माग गर्ने नियामक तथा अनुसन्धानकारी निकायबाहेक अन्य कसैलाई उपलब्ध नगराइएको र नगराइने स्पष्ट पारिएको छ।त्यस्तै, बैंकले आफ्नो कोर बैंकिङ प्रणालीमा ग्राहक विवरण कसले, कहिले र कुन प्रयोजनका लागि पहुँच गरेको हो भन्ने सम्पूर्ण अभिलेख सुरक्षित रूपमा राखिने जनाएको छ।