देशभर मनसुनी प्रभाव जारी, धेरै स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर। देशभर हाल सक्रिय रहेको मनसुनी वायुका कारण विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशको उच्चपहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसमतर्फ हेर्दा, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना समेत रहेको छ। उच्चपहाडी तथा हिमाली भेगहरूमा समेत वर्षा र हिमपात हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।