
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमा मोरङ प्रहरीले शनिबार साँझ एकैपटक व्यापक ‘स्विप अपरेसन’ सञ्चालन गर्दै ३६ जनालाई नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका–१३, १४ र १५ का विभिन्न स्थानमा रहेका स्पा केन्द्रहरू लक्षित गर्दै इलाका प्रहरी कार्यालय रानी बाट खटिएको विशेष टोलीले आकस्मिक छापा मारेको हो।
प्रहरीका अनुसार अवैध तथा अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानीमा रहेका स्पाहरूमा एकैपटक कारबाही अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानबाट केही स्पा केन्द्रहरू यौनजन्य अवैध गतिविधिको आवरणका रूपमा प्रयोग भइरहेको आशंका गरिएको छ।
भारतसँगको खुला सीमाको प्रभावका कारण यस्ता गतिविधि बढ्दै गएको अनुमान गर्दै नियन्त्रणमा लिइएकामध्ये केही भारतीय नागरिकसमेत रहेको प्रहरी स्रोतले जनाएको छ। जोगबनी नाकासँगको सहज आवतजावतलाई पनि यसको एक कारणका रूपमा हेरिएको छ।
यस क्रममा विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्ड उल्लंघन भएको पाइएपछि सञ्चालकसहित कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिना आवश्यक अनुमति सञ्चालन तथा कर्मचारीहरूको परिचयपत्रसमेत नबनाइएको भेटिएको छ।
प्रहरीले सो स्पाका सञ्चालक सुनसरी बर्जु–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारत, बिहार पटना दानापुर निवासी ४० वर्षीय राजकुमार चन्द्रवंशीसहित केही कर्मचारीहरूलाई पक्राउ गरेको छ। अन्य स्पा केन्द्रहरूबाट नियन्त्रणमा लिइएकामाथि सोधपुछ भइरहेको जनाइएको छ।
मोरङ प्रहरी प्रमुख कवित कटवाल का अनुसार स्पा र मसाज सेन्टरहरूमा यौनजन्य गतिविधि भइरहेको आशंकामा आकस्मिक छापा मारिएको हो। नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको उनले बताए।
प्रहरीले मापदण्डविपरीत सञ्चालन हुने यस्ता संस्थामाथि कडाइ निरन्तर रहने स्पष्ट पारेको छ। साथै, लागूऔषध नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी एकमहिने अभियानअन्तर्गत अन्य क्षेत्रमा समेत प्रभावकारी कारबाही भइरहेको जनाइएको छ।
