
विराटनगर। भोजपुरमा एकै परिवारका चार सदस्यको ज्यान जाने गरी भएको सामूहिक हत्याले जिल्लामा सनसनी फैलिएको छ। रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा ज्वाइँले ससुरालीमा पुगेर श्रीमतीसहित चारजनाको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मृतकमध्ये बेलबहादुर गिरी (ससुरा), मञ्जु गिरी (सासु), मनिषा गिरी (श्रीमती) र सपन गिरी (सालो) रहेका छन्। घटनामा संलग्न राजेन्द्र राई आफैँले प्रहरीलाई फोन गरेर घटनाको जानकारी गराएका थिए।
प्रहरीले उनलाई घटनास्थलबाट घाइते अवस्थामा फेला पारेको जनाएको छ। राईको पेटमा पनि धारिलो हतियारले चोट लागेको छ र हाल उनी उपचाररत छन्।
कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा राजेन्द्रले आफू सुतिरहेको बेलामा छुरी प्रहार भएको दाबी गरेका छन्। “म सुतिरहेको बेला मलाई छुरी हाने, त्यसपछि मैले छुरी खोसेर हानेँ,” भन्ने राईको प्रारम्भिक बयान रहेको प्रहरीले जनाएको छ।
घटनाको पछाडि वैवाहिक विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। भर्खरै विवाह गरेर माइतीमा बसेकी श्रीमतीलाई लिन ससुराली गएका राई र गिरी परिवारबीच विवाद भएको र त्यसक्रममा घटना भएको अनुमान गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।