विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ ।
स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन एभरेष्टका विद्यार्थीहरु जाने भएका हुन् । संयुक्त राष्ट्रसंघको नमुना अभ्यास विद्यालयमा गरेका एभरेष्टका विद्यार्थीहरुले यस अघि भियतनाममा समेत यस्तै सभामा भाग लिएर फर्किएका थिए । त्यस्तै युरोपियन मोडलको नमुना सभामा भाग लिन नेपालका चार विद्यालयले सहभागिता जनाउने भएका हुन् । ति मध्ये संघीय राजधानी काठमाडौंका तीन र कोशी प्रदेशको राजधानी विराटनगरको एभरेष्ट स्कुल रहेका छन् ।
काठमाडौबाट अक्षरा, भ्याली पब्लिक र वेदिक विद्यालयले जहभागिता जनाउने छन् । अमेरिका, युरोप, क्यानडा, टर्की, भारत र नेपालका गरि करिब २० विद्यालयका विद्यार्थीको सहभागिता हुने उक्त नमुना सभामा नेपालबाट करिब ३५ विद्यार्थीले सहभागिता जनाउने ग्लोबल हेल्प फाउण्डेसनका महासचिव कुँवर दिपांकरले बताए । उनका अनुसार ति मध्ये एभरेष्ट स्कुलबाट सात जना विद्यार्थीले सहभागिता जनाउने भएका हुन् ।
एभरेष्ट स्कुलका भाईस प्रिन्सिपल टी एन भण्डारीका अनुसार कक्षा ९ का सक्षम कर्ण, कक्षा १० का आन्या कोइराला, सुयम काफ्ले, श्वेश्ना कर्ण र कक्षा ११ का आर्जु सिग्देल र आयुस्मा जैसवाल र प्रेम खतिवडासहित गीता ढकाल तथा भाईस प्रिन्सिपलद्वय भण्डारी र कुन्दन पुरीको टोली जान लागेको हो । २८ गते स्पेन पुग्ने टोलीलाई बार्सिलोनको सभापछि फ्रान्स, जर्मन, स्वीट्जरल्याण्डमा २/२ दिन अवलकोन भ्रमण गराईने छ ।
सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने विद्यालयको विश्वास छ । यसले विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति नियम बुझ्न र समस्याहरुका विषयमा तार्किक विश्लेषण गर्ने क्षमताको विकास गराउने विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए।
