
विराटनगर। मोरङको रंगेलीमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ। आइतबार दिउँसो रंगेली नगरपालिका–८ मा प्रहरी टोलीले ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीमा इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेल नेतृत्वमा प्रहरी पुगेको थियो। शंकास्पद गतिविधि देखिएपछि प्रहरीले हवाइ फायर गर्दै नियन्त्रणमा लिने प्रयास गरेको थियो।
पक्राउ पर्नेहरूमा रंगेली–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एक भारतीय महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूबाट लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ।
हाल पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।