काठमाडौं । संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न जिल्लामा पछिल्ला दुई सातादेखि सरकारी डोजर अभियान तीव्र बनेको छ। पानी झरीकै बीच सुकुम्बासीहरूलाई सामान सार्न केही घण्टामात्र समय दिएर बस्तीहरू धमाधम भत्काउने क्रम जारी रहेको छ। सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरी सञ्चालन गरिएको यो अभियान बुद्ध जयन्ती का दिनसमेत रोकिएन। देशभर गौतम बुद्ध को स्मरणमा पूजा–आराधना भइरहेका बेला बल्खु मा भने गुम्बामाथि नै सरकारी डोजर चलाइएको छ।
बुद्ध जयन्तीकै दिन बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजरले भत्काइएको हो। सोही क्रममा सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देवीको मन्दिरसमेत डोजर प्रयोग गरी ध्वस्त बनाइएको छ।
