इटहरीमा सिटी सफारी दुर्घटना : चालकको मृत्यु, एक गम्भीर घाइते

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. १-०२-००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी इटहरी उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय चालक बिकल चौधरी र सोही स्थानका २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते भएका थिए। दुवैको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो।

उपचारकै क्रममा चालक बिकल चौधरीको शुक्रबार राति करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का घाइते उमेश श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।