कटहरीको अदर्श युथ क्लब च्याम्पियन : वडा अध्यक्ष कप फुटबलको उपाधि जित्दै ६१ हजार नगद पुरस्कार हात पार्यो

मोरंग

८औं संस्करणको वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कटहरीस्थित अदर्श युथ क्लबले शानदार प्रदर्शनसहित आफ्नो नाममा लेखाएको छ। जहदा गाउँपालिका–३ को सहयोगमा लक्ष्मी स्पोर्टिङ युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अदर्श युथ क्लब विजयी बनेको हो।

शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा अदर्श युथ क्लबका सनिस लिम्बुले खेलको १५औं मिनेटमै गरेको एक मात्र गोल नै निर्णायक बन्यो। सुरुवाती अग्रतालाई अन्त्यसम्म जोगाउँदै अदर्श युथ क्लबले उपाधि उचाल्न सफल भयो।

जहदा–२ को जहाज युथ क्लबले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै बराबरीका लागि अन्तिम समयसम्म संघर्ष गरे पनि गोल गर्न नसक्दा उपविजेतामै सीमित हुनुपर्‍यो।

बैशाख १२ गतेदेखि जहदा–३ स्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धा पार गर्दै अदर्श युथ क्लब र जहाज युथ क्लब फाइनलसम्म पुगेका थिए।

विजेता अदर्श युथ क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ६१ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता जहाज युथ क्लबले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा जहदा–३ का वडा अध्यक्ष अनिल ठाकुरले खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने उद्देश्यले यस्ता प्रतियोगितालाई निरन्तर प्राथमिकता दिँदै आएको बताए। उनले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।