काठमाडौंमा अवैध संरचना हटाउने अभियान तीव्र, विभिन्न क्षेत्रमा धमाधम भत्काइँदै

काठमाडौं।  काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ। सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा अतिक्रमित जग्गामा बनेका अवैध संरचना हटाउने काम निरन्तर जारी रहेको छ।

यसै क्रममा धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर क्षेत्रमा अव्यवस्थित तथा अतिक्रमित संरचना हटाइएको छ। त्यस्तै, विष्णुमति नदी किनारस्थित काठमाडौं महानगरपालिका–१६ अन्तर्गत बालाजु–माछापोखरी तथा तिलगङ्गा क्षेत्रमा पनि अतिक्रमित संरचना खाली गर्ने क्रम चलिरहेको छ। कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत स्थानमा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु र भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ। त्यहाँ रहेका भूमिहीन सुकुमवासीको पहिचान गरी उनीहरूको व्यवस्थापन प्रक्रिया पनि अघि बढाइएको छ। यसैबीच, सहरी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै सहायता आवश्यक नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई नाम दर्ता गर्न आग्रह गरेको छ।