काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीहरूको पहिचान गरी उनीहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। सोमबार थापाथलीस्थित हालै हटाइएको सुकुम्वासी बस्तीको अवलोकन गर्दै उनले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन नागरिकहरू बढी मारमा परेको बताए। सरकारी जग्गा कब्जा गरी भाडामा लगाउने प्रवृत्ति नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने उनको भनाइ थियो। साम्पाङले बस्ती हटाउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा जोड दिँदै उचित पहिचानबिनै डोजर चलाउँदा वास्तविक पीडितहरू थप समस्यामा परेको उल्लेख गरे। उनले गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्नु उचित नभएको भन्दै उनीहरूका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरे। त्यस्तै, नागरिकको आधारभूत अधिकारलाई ध्यानमा राख्दै यस्ता कार्यहरू आगामी दिनमा अझ संवेदनशील र व्यवस्थित ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।
