
विराटनगर। मोरङ जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

विराटनगर–३ स्थित नेपाल आयल निगम नजिक सोमबार बिहान एक मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। कञ्चनबारीतर्फ जाँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल सडकको डीभाइडरमा ठोक्किँदा चालक सप्तरीका २४ वर्षीय अरविन यादव गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा उनलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनाबारे जानकारी दिँदै ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको पुष्टि गरेका छन्।
त्यसैगरी, आइतबार राति करिब १० बजे पथरीशनिश्चरे–२ मा अज्ञात सवारी साधनको ठक्करबाट ६७ वर्षीय दिलमान साम्बा गम्भीर घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार उनलाई तत्काल उपचारका लागि नोबेल अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान उनको पनि मृत्यु भएको डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।