चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिक अन्दाजी दुई वर्षको भाले बाघ मृत भेटिएसँगै मृत बाघको संख्या छ पुगेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार उक्त बाघको मृत्यु बाघबीचको आक्रमणबाट भएको हो। उनका अनुसार यस वर्ष मृत फेला परेका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान खुल्न सकेको छैन। तीमध्ये दुई वटा आपसी जुधाइका कारण मरेका हुन्। तीन वटा उद्धारको क्रममा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उनले बताए। अघिल्लो गणनाअनुसार निकुञ्जमा १२८ वटा बाघ रहेका थिए। चालु वर्षको गणनाको नतिजा भने अझै सार्वजनिक गरिएको छैन।
