
विराटनगर । दर्ता विना सञ्चालन भइरहेको भन्दै नेपाल शिक्षक महासंघविरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा औपचारिक उजुरी परेको छ।

शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले दिएको उक्त उजुरीमा महासंघले संस्था दर्ता नगरी गैरकानुनी रूपमा गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ। उजुरीमा महासंघले लेटरप्याड र छापको अनधिकृत प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क र नवीकरण दस्तुरका नाममा रकम संकलन गर्दै आएको दाबी गरिएको छ।
दुवै उजुरीदाताले महासंघको गतिविधि तत्काल रोक्न र कानुनी रूपमा आवश्यक अनुसन्धान अघि बढाउन संसदीय समितिसँग माग गरेका छन्।
उजुरी अनुसार, शिक्षा ऐन २०२८ को आठौँ संशोधनपछि नेपाल शिक्षक युनियनको नाम परिवर्तन गरेर नेपाल शिक्षक महासंघ बनाइएको हो। ऐनको दफा १६ (ङ) अनुसार सामुदायिक विद्यालयका शिक्षकहरूको हकहितका लागि एउटै शिक्षक महासंघ हुने व्यवस्था गरिए पनि हालको महासंघले छुट्टै दर्ता नम्बर राखी सञ्चालन गरिरहेको उजुरीमा उल्लेख छ।
शंकरबहादुर कुमालले संस्थाको दर्ता प्रमाणित गर्न कार्यालयमा निवेदन दिँदा कार्यालयले २०७८ सालको च. नं. ३३५ को पत्रमार्फत “नेपाल शिक्षक महासंघ” नामको दर्ता अभिलेखमा नरहेको जानकारी दिएको उजुरीमा उल्लेख छ।
‘दर्ता विनाको संस्था सञ्चालन गरी लेटरप्याड र छापको अनधिकृत प्रयोग गर्दै रकम संकलन गरिएकोले तत्काल गतिविधि रोक्न र अनुसन्धान गरियोस्,’ उजुरीमा भनिएको छ।
उक्त विषय सर्वोच्च अदालतमा अवहेलना मुद्दाका रूपमा विचाराधीन रहेको समेत स्मरण गराइएको छ। साथै उजुरीमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापाको नाम पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।
संसदीय समितिले यसबारे चाँडै छलफल सुरु गर्ने तयारी गरेको स्रोतले जनाएको छ।