
विराटनगर । कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमित नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन्। एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) सँगको समन्वयमा प्रदेशका ११ वटा केन्द्रमार्फत उनीहरूले उपचार तथा परामर्श सेवा प्राप्त गरिरहेका हुन्।
शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा एएचएफ नेपालका मेडिकल एडभाइजर डा. उन्नत श्रेष्ठले देशभर ३० हजारभन्दा बढी एचआईभी संक्रमित रहेको जानकारी दिँदै कोशी प्रदेशमा पनि संक्रमितको संख्या र उपचार सेवामा पहुँच क्रमशः बढिरहेको बताए।
उनका अनुसार यौनकर्मी, समलिंगी, कैदीबन्दी तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा संक्रमणको दर तुलनात्मक रूपमा बढी देखिएको छ।
“सन् २०३० सम्म एचआईभी/एड्सलाई जनस्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने लक्ष्य लिइएको छ,” डा. श्रेष्ठले भने, “यसका लागि सरकार, स्वास्थ्य संस्था र समुदाय सबैको सक्रिय सहकार्य आवश्यक छ।”
स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले संक्रमण रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नु प्रमुख चुनौती रहेको बताए। उनका अनुसार कोशी प्रदेशका अधिकांश संक्रमित २५ देखि ४९ वर्ष उमेर समूहका छन्, जसले उत्पादक उमेर समूहमा संक्रमणको प्रभाव गम्भीर बन्दै गएको संकेत गर्छ।
एआरटी केन्द्रहरूले संक्रमितका लागि निःशुल्क रूपमा एचआईभी परीक्षण तथा परामर्श, कन्डम वितरण, एआरटी औषधि, यौन रोगसम्बन्धी परामर्श, भाइरल लोड परीक्षण, ईआईडी परीक्षण तथा आमाबाट बच्चामा संक्रमण सर्न नदिने पीएमटीसीटी सेवा उपलब्ध गराउँदै आएका छन्।
