रंगेलीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–४ चोप्रहामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार बेलुका चोप्रहास्थित गणेश माध्यमिक विद्यालय नजिकको भित्री पक्की सडकमा भएको दुर्घटनामा स्थानीय ७३ वर्षीया कलियादेवी मण्डलको मृत्यु भएको हो।

चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र १–०४–००३ प ००२१ नम्बरको १६० सीसीको टीभीएस मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियो। दुर्घटनामा मण्डलको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको थियो।

मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–२ निवासी २९ वर्षीय आर्यण राजवंशी पनि घाइते भएका छन्। उनको हात, खुट्टा र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। मण्डलको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। पैदलयात्रीले सडक काट्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।