
विराटनगर।कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्वस्थ जीवन यापनका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

आज विराटनगरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आयोजित “स्वास्थ्य प्रवर्द्धन सेवा सम्बन्धी सञ्चारकर्मी एवं सरोकारवालाका लागि आयोजित पैरवी कार्यक्रम” को उद्घाटन गर्दै मन्त्री राईले स्वास्थ्यप्रति जनचेतना जगाउन सञ्चारकर्मीहरूको भूमिकालाई विशेष महत्व दिनुपर्ने बताएका हुन्।
“समाज, प्रदेश र राष्ट्रलाई स्वस्थ बनाउने अभियानमा सञ्चारकर्मीहरूका समाचारले गाउँदेखि शहरसम्म ठूलो प्रभाव पार्छ,” मन्त्री राईले भने, “हामीले खानपान, व्यायाम र जीवनशैलीमा परिवर्तन ल्याई दुर्घटनाबाट बच्ने उपाय अवलम्बन गर्न जरुरी छ।”
उनले संघीयता प्राप्तिपछि तीन तहको सरकारको संरचनाले औषधि खरिदमा खर्च बढेको उल्लेख गर्दै, अब जनतालाई रोकथाममुखी उपायमार्फत सचेत बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा मन्त्री राईले ‘मेरा स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानलाई सफल बनाउन सञ्चारकर्मीहरूलाई सक्रिय सहयोग गर्न आह्वान गरे। साथै, उनले खान मिल्ने र नमिल्ने खाद्य तथा पेय वस्तुको प्रदर्शनी अवलोकन गर्दै जानकारी समेत लिए।
कार्यक्रममा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयका स्वास्थ्यकर्मी, निजी अस्पतालका चिकित्सक तथा कर्मचारी, आयुर्वेद कार्यालयका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकका अनुसार, नागरिकलाई स्वास्थ्यप्रति जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।