सुनसरी,
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा ‘जगद्गुरु श्रीरामानन्दाचार्य गुरुकुल’को उद्घाटन गरिएको छ। कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले आइतबार आयोजित कार्यक्रममा गुरुकुलको उद्घाटन गर्नुभएको हो।
नेपाल पीठाधीश एवं संरक्षक अनन्तश्री विभूषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको अगुवाइमा स्थापना गरिएको गुरुकुलले वैदिक सनातन संस्कार, आधुनिक गुणस्तरीय शिक्षा तथा आध्यात्मिक जीवनदर्शनलाई समन्वय गरी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
गुरुकुलमा कक्षा ६ देखि १२ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइनेछ। साथै योग, ध्यान, वेद–व्याकरण, संस्कार, संस्कृति तथा अनुशासित गुरुकुलीय जीवनशैलीमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्य रहेको जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाले जानकारी दिनुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले हरेक विद्यालयमा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले धर्मको माध्यमबाट मानिसमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्दै युवापुस्तालाई धार्मिक तथा संस्कारी बनाउन यस्ता शिक्षालयहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
