बिराटनगर
देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव कायम रहँदा आज पनि धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थानमा वर्षाको सम्भावना उच्च रहेको छ। साथै अन्य पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ।
आज रातिको समयमा पनि देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहनेछ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद्हरूले चट्याङ, हावाहुरी तथा वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
