केन्द्रीय कारागार जगन्नाथ देवल बाट महिला कैदी फरार

बिराटनगर — सुनधारा स्थित केन्द्रीय कारागार जगन्नाथ देवल बाट जन्मकैदको सजाय भोगिरहेकी एक महिला कैदी फरार भएकी छन्।

कारागार प्रशासनका अनुसार सपना तामाङ शुक्रबार बिहान करिब १:३० बजे कारागारबाट भागेकी हुन्। विदुर नगरपालिका निवासी २५ वर्षीया तामाङ अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा दोषी ठहर भई २०७५ सालदेखि जेल सजाय भोगिरहेकी थिइन्।

जेल प्रशासनले सार्वजनिक गरेको जानकारीअनुसार उनी कारागारको पछाडिको पर्खाल नाघेर फरार भएकी हुन्। सिसिटिभी फुटेजमा समेत उनको भागेको दृश्य देखिएको जेलर कृष्ण चापागाईं ले बताएका छन्।

घटना भएको तीन दिन बितिसक्दा पनि फरार कैदी पक्राउ नपरेपछि सुरक्षालाई लिएर प्रश्न उठ्न थालेको छ। कारागार प्रशासन र प्रहरीको संयुक्त टोलीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।