
विराटनगर । साउन महिनामा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनको अत्यधिक भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिकै सरहको व्यवस्थापन गर्ने तयारी गरेको छ। कोषले विशेष गरेर साउनको सोमबार र शनिबारको दिनलाई लक्षित गर्दै व्यापक सुरक्षा र व्यवस्थापन योजना बनाइरहेको जनाएको छ।

निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार कोष सञ्चालक परिषद्का सदस्यहरूलाई समेत अनुगमनमा खटाइनेछ। भक्तजनको सहज आवागमन, दर्शन तथा पूजाआराधनाका लागि सम्पूर्ण क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।
यसैक्रममा, कोषले साउन महिनाबाट पत्रकार तथा सञ्चारकर्मीका लागि ‘मिडिया सेन्टर’ स्थापना गर्ने प्रतिबद्धता समेत जनाएको छ। धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँगको अन्तरक्रियामा जोशीले उक्त जानकारी दिएका हुन्।
हरितालिका तीज, बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष, अक्षय तृतीया लगायतका विशेष पर्वहरूमा पशुपति क्षेत्रमा लाखौँ श्रद्धालु दर्शनार्थ आउने गरेका छन्। ती अवसरहरूमा समाचार संकलनमा सञ्चारकर्मीहरूलाई कठिनाइ हुने गरेको भन्दै मिडिया सेन्टरले उनीहरूको काममा सहयोग पुर्याउने विश्वास गरिएको छ।
पशुपति क्षेत्र विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र र नेपाल राष्ट्रको देवस्थलसमेत भएकाले यस क्षेत्रको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन कोषले थप पहल थाल्ने तयारी गरेको छ।